
काठमाडौं, फागुन ४ गते ।नेपाल वायुसेवा निगमले सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज–सिमकोट–नेपालगन्ज रुटमा सञ्चालन हुँदै आएको नेपाल वायुसेवा निगमले अब कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्न सिमकोटबाट परीक्षण उडान गर्ने नेपाल वायुसेवा निगम सिमकोट स्टेशनका प्रमुख चिरिङ लामाले जानकारी दिएका छन् ।
यस उडानका लागि आवश्यक सबै तयारी पूरा भइसकेको लामाले बताए । नेपालगन्ज–सिमकोट उडान लगत्तै सिमकोट–सुर्खेत परीक्षण उडान शुरु गर्ने निगमको योजना छ । तर, यो उडानको ठ्याक्कै भाडा भने तय हुन सकेको छैन ।
सिमकोट–सुर्खेत हवाई रुट सञ्चालनमा आएपछि हुम्लाबासीको आवतजावतमा सहज हुने स्थानीयवासी गोरखा रोकायाले बताए । सिमकोट–सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगन्ज र त्यसपछि नेपालगञ्जबाट सुर्खेतसम्मको आवतजावतको आवश्यकता हट्ने उनले बताए ।
हाल सिमकोटबाट नेपालगञ्जसम्म जहाजबाट ४५ मिनेट र नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । नियमित उडानले सिधै प्रदेश राजधानी सुर्खेत पुग्न ३५ मिनेट मात्र लाग्ने रोकायाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे