
काठमाडौँ । आज नेपालमा ७५औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। निरङ्कुश राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते जनआन्दोलनमार्फत प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।
प्रजातन्त्र स्थापनाका लागि दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री ले हाँसी–हाँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिको बलमा राणा शासनको अन्त्य सम्भव भएको थियो। उनीहरूको बलिदानकै स्मृतिमा आजको दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा लिइन्छ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा रामचन्द्र पौडेलको सहभागितामा विशेष कार्यक्रम आयोजना गरेको छ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका सबै आन्दोलन तथा योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ। उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।
राष्ट्रपति पौडेलले २००७ सालको क्रान्ति नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउने र सहिदहरूको अमर योगदान सधैँ स्मरण गराउने दिनका रूपमा रहिरहने विश्वास व्यक्त गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे