
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को समानुपातिक उम्मेदवार सूचीमा समावेश पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन इच्छुक भएको बताएका छन्। फोर्टिन पिक्स एक्सिपिडिसनका सीईओ समेत रहेका शेर्पाले सामाजिक सञ्जालमार्फत दलगत राजनीतिमा रुचि नभएको र व्यक्तिगत प्रयासमार्फत् देशको विकासमा योगदान दिने उद्देश्यले यो निर्णय लिएको जानकारी दिएका छन्।
टासीले बताएका छन्, “मलाई प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक सूचीमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद। तर म दलगत राजनीतिमा संलग्न हुन चाहन्न, त्यसैले मेरो नाम फिर्ता लिन चाहन्छु।” उनले थपे, “म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र एक साधारण नागरिकको रूपमा मेरो कर्ममार्फत् देशका लागि सक्दो योगदान दिनेछु।”
उक्त निर्णयसँगै टासीले आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल र योग्य उम्मेदवारहरूलाई शुभकामना पनि दिएका छन्। उल्लेखनीय छ कि टासी मिङ्मा शेर्पाका दाजु हुन्, जसले केही दिनअघि औपचारिक रूपमा रास्वपा प्रवेश गरेका थिए। मिङ्माले पार्टी प्रवेश पछि दिएको भाषणको भिडियो सेयर गर्दै टासीले आफ्ना दाजुको राजनीतिक सफलताको शुभकामना व्यक्त गरेका थिए।
यसबीच, रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा नातावाद, कृपावाद र परिवारवाद हावी भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ। पार्टीभित्रै पनि प्राइमरी इलेक्सनको प्रक्रिया धज्जी उडाइएको भन्दै विरोध हुने क्रम बढेपछि सभापति रवि लामिछानेले सूची सच्याउने आश्वासन दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे