
काठमाडौँ, वैशाख ४ । एक सातादेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ ।
काठमाडौँ उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौँ उच्च वायु प्रदूषण भएको सहरमा गनिन थालेको छ । विश्वस्तरमा मापन गरिने वायु प्रदूषणको मापनले पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको उच्च सूचीमा देखिन थालेको हो । वातावरण विभागले पनि काठमाडौँको वायु श्वास फेर्नलायक नरहेको स्वीकार गरेको छ ।
वातावरण निरीक्षक गोविन्द लामिछानेले भन्नुभयो, “पहिले धुलोका कण मात्र हुन्थे । अहिले धुवाँ पनि मिसिएको छ, जुन सहजै रगतमा पुग्न सक्छ । त्यसको मात्रा यहाँको वायुमा उच्च देखिएको छ ।” उहाँका अनुसार सबैभन्दा सानो वायुको कणलाई सूक्ष्म रूपमा हेर्दा त्यसमा आँखाले नदेखिने धुवाँका कणको घनत्व उच्च रहेको छ । सामान्यतः २.५ माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलोका कणलाई पीएम २.५ भनिन्छ ।
सामान्य मानिसको कपालको रौँको व्यास ७० माइक्रोमिटर हुन्छ । यसरी यस समूहमा पर्ने सबैभन्दा ठूला कणको व्यासभन्दा कपालको रौँको व्यास ३० गुणा ठूलो हुन्छ । यस्ता कण निकै साना हुने भएकाले सजिलैसँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन भने धेरै मसिना कण फोक्सोबाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अङगमा प्रवेश गर्छन । आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे