
काठमाडौं । आज सोमबारे औँशी पर्व देशभर मौन स्नान, श्राद्ध, तर्पण र सिदा दानजस्ता धार्मिक क्रियाकलापका साथ मनाइएको छ। पौष कृष्ण औँशी सोमबार परेका कारण यसलाई विशेष महत्वका साथ मनाइएको हो।
आजको दिन बिहानै उठेर मौन अवस्थामा स्नान गरे मनोकाङ्क्षा पूरा हुने र दाम्पत्य जीवन सुखमय हुने शास्त्रीय मान्यता रहेको छ। सोमबारे औँशी वर्षभरिमा तीनदेखि चार पटकसम्म पर्ने गर्दछ।
धार्मिक मान्यता अनुसार, औँशी तिथिले श्राद्ध र तर्पणका लागि विशेष महत्व राख्छ। विशेषगरी माता-पिता नहुने व्यक्तिहरूले आजको दिन श्राद्ध, तर्पण र सिदा दान गरेर पितृहरूलाई सम्झने परम्परा रहेको छ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेषगरी बिहानैदेखि श्राद्ध गर्न आउने भक्तजनको उल्लेखनीय भीड देखिएको छ। मौन स्नान र धार्मिक अनुष्ठानमा सहभागी हुनेले अक्षय फल प्राप्त हुने विश्वास रहेको बताइन्छ।
प्रत्येक महिनामा पर्ने औँशीलाई पनि विशेष पर्वका रूपमा मनाउने परम्परा रहेकोले सोमबारे औँशी थप धार्मिक महत्वको पर्वका रूपमा मनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे