
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रशासकीय विवाद चर्किएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई कार्यकक्षमा अवरोध पुर्याएको आरोप लगाउँदै लिखित स्पष्टीकरण माग गरेका छन्।
गुरागाईंले चैत २१ गते लामो बिदापछि कार्यालय फर्किएको दिन पाण्डेले अनधिकृत रूपमा महानगर प्रहरी परिचालन गरी आफूलाई कार्यकक्षमा जान रोक लगाएको, प्रयोग गर्दै आएको सवारीसाधन हवील लक गराएको र कार्यकक्षमा तालाबन्दीसमेत गरेको आरोप लगाएका छन्।
उनले पठाएको स्पष्टीकरण पत्रमा उल्लेख छ कि उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा पनि पाण्डेले तालाबन्दी खोल्न असहयोग गरे। यस्तै, सञ्चारमाध्यमहरूसँग अनधिकृत रूपमा प्रतिक्रिया दिँदै जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार देखाएको आरोप समेत लगाइएको छ।
गुरागाईंले पाण्डेलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्। साथै, तोकिएको समयभित्र स्पष्टीकरण नआएमा वा प्राप्त जवाफ सन्तोषजनक नठहरे कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे