
काठमाडौं, – बहुप्रतिक्षित सगरमाथा संवादको आजदेखि सुरुवात भएको छ, जहाँ अन्तर्राष्ट्रिय विज्ञहरूले जलवायुजन्य संकट समाधानका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन्।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाली परिदृश्यमा आएको रूपान्तरणलाई गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै हिमनदीहरू पग्लँदै गएको, पारिस्थितिकीय प्रणाली परिवर्तन हुँदै गएको र परम्परागत जीवनशैलीमा नकारात्मक प्रभाव परेको उल्लेख गरेका थिए। उनले यस समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग र सामूहिक प्रयासको आवश्यकता रहेको बताएका थिए।
इजिप्टका राजदूत नोहा हम्दी अहमद इल्गेबालीले जलवायु अनुकूलनका लागि स्थानीय स्तरमा वित्तीय स्रोत, जल संरक्षण र जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका थिए। उनले कोप-२७ को सफलतालाई समेत उल्लेख गर्दै यसले विश्व दक्षिणका आवाजलाई प्रमुखता दिएको र जलवायु न्यायलाई केन्द्रमा राखेको बताएका थिए।
संवादमा बङ्गलादेश, भूटान, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार लगायतका देशका प्रतिनिधिहरूले आफ्ना धारणाहरू राखेका थिए। संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरूले पनि सत्रमा सहभागिता जनाएका थिए।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको अध्यक्षतामा सम्पन्न यस संवादमा जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा पर्ने प्रभाव, अनुकूलनका उपायहरू र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा केन्द्रित छलफल भएको थियो। संवादको पूर्ण सत्रमा सहभागी राष्ट्र तथा संस्थाहरूलाई आफ्ना विचार राख्ने पूर्ण अवसर प्रदान गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे