
काठमाडौँ — सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार यी विधेयकहरू पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावना छ ।
यसैबीच, आज पाँचवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। अर्थ समितिमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ संशोधनसम्बन्धी विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि प्रस्तावकर्तासँग छलफल हुनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ भने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धमा परिषद्सँग प्रत्यक्ष छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे