
काठमाडौँ , ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य र सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्गसँग शिष्टाचार भेट गरेका छन्। बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीका बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल गरिएको छ। ओलीले चीनको चौतर्फी विकास र गरिबीको अन्त्यमा महासचिव सी जिनपिङको नेतृत्वलाई उच्च प्रशंसा गर्दै नेपालले त्यसबाट लाभ लिन चाहेको बताए।
उनले राजनीतिक स्थिरताको लागि एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको उल्लेख गर्दै, चीनको निरन्तर सहयोगको अपेक्षा राख्नुभयो। ओलीले दुई देशका बीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै, चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने कुरामा स्पष्ट रहनाको महत्त्वमा जोड दिए।
छेन् गाङ्गले महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमण गरेको जानकारी दिँदै, नेपालका राजनीतिक निर्णयहरूको सम्मान रहने र भ्रमणका क्रममा आएका विषय महासचिवलाई जानकारी गराउने प्रतिबद्धता जनाए। भेटमा प्रमुख सल्लाहकार र अन्य अधिकारीहरू पनि उपस्थित थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे