
काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बेच्नु नहुने आग्रह गरेका छन्। म्याग्दीबाट निर्वाचित महावीरले सोमबार पोखराका सडक र चोकमा उभिएर आफ्ना पुस्तक बिक्री गरिरहेको विषयमा मेयर आचार्यले ध्यानाकर्षण गराएका हुन्।
मेयर आचार्यले सर्वप्रथम महावीरलाई विजयको लागि बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले महावीरको देश र समाजप्रति समर्पण, सादगी र अनुसन्धानप्रतिको लगाव सराहनीय भएको बताए। तर, बिना दर्ता वा अनुमति सडकमा वस्तु बिक्री गर्नु कानुनी रूपमा जटिल हुन सक्ने भएकाले असहजता र विवाद सिर्जना भएको उल्लेख गरे।
मेयरका अनुसार, देशभर करिब १८ हजार पुस्तक व्यवसायी दर्ता भई व्यवस्थित तरिकाले पुस्तक बिक्री–वितरण गर्दै आएका छन्। महावीरलाई पोखरा आउने बेला पुस्तक व्यवसायी महासंघमार्फत सहज र उपयुक्त स्थान उपलब्ध गराएर बिक्रीमा सहयोग गर्न सकिने पनि जनाइयो।
उनले फुटपाथमा साना व्यवसाय गर्ने नियम सबैमा लागू हुने भएकाले अनावश्यक विवाद टार्न आग्रह गरे। साथै, बिक्री विवरण सार्वजनिक गरेमा पारदर्शिता बढ्ने र करसम्बन्धी प्रश्नहरू सजिलै जवाफ दिन सकिने बताए। मेयर आचार्यले महावीरको अभियानको सम्मान गर्दै सहयोगका लागि सधैं तयार रहेको पनि बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे