
सिड्नी, सेप्टेम्बर १ – अस्ट्रेलियाभर आयोजित आप्रवासीविरोधी र्यालीले देशभर ठूलो विवाद उत्पन्न गरेको छ। ‘मार्च फर अस्ट्रेलिया’ नाम दिइएको सो आन्दोलनलाई सरकारले ‘घृणा फैलाउने दक्षिणपन्थी अभियान’ भन्दै कडा आलोचना गरेको हो।
सिड्नी, मेलबर्न, एडेलेड लगायतका प्रमुख शहरमा आयोजित र्यालीमा हजारौं सहभागी भएका थिए। सिड्नीमा मात्र करिब ८ हजार मानिस भेला भएको अस्ट्रेलियन ब्रड्कास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ। ठूलो भिडलाई नियन्त्रण गर्न सयौं सुरक्षाकर्मी परिचालन गरिए पनि कुनै ठूलो घटना नभएको प्रहरीले जनाएको छ।
मेलबर्नमा भने आप्रवासीविरोधी प्रदर्शनकारी र प्यालेस्टाइन समर्थक समूहबीच झडप भएको थियो। सो अवसरमा चिनिएका नव–नाजी टमस सुवेलले संसद् भवनको ढोकैबाट भाषण गरेका थिए।
एडेलेडमा भएको र्यालीमा करिब १५ हजार मानिस भेला भएको अनुमान गरिएको छ। यद्यपि, प्रहरीले भिडलाई ‘सामान्यतया अनुशासित’ भएको बताएको छ।
सो र्यालीमा सहभागीमध्ये केहीले आप्रवासी विरोधी नाराका साथै आपराधिक घटनामा संलग्न मानिएका व्यक्तिहरूको समर्थनमा प्लेकार्ड समेत बोकेका थिए। यसअघि दुई जना प्रहरी अधिकारीको हत्या आरोपित ‘सर्भेरेन सिटिजन’ डेज़ी फ्रीम्यानको समर्थनमा नाराबाजी गरिएको देखिएको थियो।
मार्च फर अस्ट्रेलिया आन्दोलनलाई केही विपक्षी नेताहरूले समेत समर्थन गरेका छन्। वन नेशन पार्टीकी सेनेटर पाउलिन हान्सन र संघीय सांसद बब काटर लगायतका नेताहरू प्रत्यक्ष सहभागी बनेका थिए।
अस्ट्रेलियामा पछिल्ला वर्षमा दक्षिणपन्थी अतिवाद बढ्दै गएको छ। यसै पृष्ठभूमिमा सरकारले यसअघि नै ‘नाजी सलाम’ लाई अनिवार्य जेल सजाय हुने अपराधको सूचीमा समावेश गरेको थियो।
मार्च फर अस्ट्रेलिया समूहले आप्रवासनका कारण देशको एकता, मूल्य र सामाजिक सम्बन्ध कमजोर भएको दाबी गरेको छ। उनीहरूले आप्रवासनले संस्कृति, रोजगार, घर, यातायात, वातावरणीय क्षति, स्वास्थ्य सेवा र सुरक्षामा समस्या बढाएको आरोप लगाएका छन्।
तर, अस्ट्रेलियाली सरकारले भने ती मागलाई ‘द्वेषपूर्ण राजनीतिक उद्देश्य’ मात्र भएको भन्दै अस्वीकार गरेको छ। गृहमन्त्री टोनी बर्कले भने, “हाम्रो देशलाई विभाजन गर्ने, सामाजिक समावेशितामा आघात पुर्याउने कसैलाई स्थान छैन।”
बहुसांस्कृतिक मामिला मन्त्री डा. एनी एलीले थपिन्, “अस्ट्रेलिया सबै नागरिकको साझा घर हो। आप्रवासी समुदायलाई आतंकित गर्न खोज्ने, जातीय घृणा फैलाउने यस्तो दक्षिणपन्थी गतिविधिको आधुनिक अस्ट्रेलियामा कुनै ठाउँ छैन।”
विशेषज्ञहरूका अनुसार, अस्ट्रेलियामा आप्रवासीविरोधी अभियान ‘मुख्यधार’ र ‘चरम दक्षिणपन्थी’ विचारबीचको नजिक सम्बन्धलाई देखाउने उदाहरण बनेको छ। यसले आगामी राजनीतिक परिदृश्यमा थप तनाव निम्त्याउने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे