
काठमाडौं । कर्मचारी सरुवासम्बन्धी घुस प्रकरणबारे आएका समाचारप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारसँग जवाफ माग गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले बोल्दै उक्त प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदलाई जानकारी गराउनुपर्ने माग राखेकी हुन्।
“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीले कर्मचारी सरुवामा ७८ लाख रुपैयाँको डिल गरेको भन्ने समाचार सार्वजनिक भएका छन्। यसबारे सत्यता के हो? यसबारेमा सम्माननीय प्रधानमन्त्रीज्यू संसदमा स्पष्ट पार्न अनुरोध गर्दछु,” सांसद शर्माले सभामुखमार्फत् भनिन्।
उनले उक्त प्रकरणको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेकी छन्।
सांसद शर्माले प्रशासकीय कार्यशैलीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे