
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरेको छ। भेटका क्रममा नेपाली बजारमा लगानीका सम्भावना र अवसरहरूबारे विस्तृत छलफल भएको थियो।
२० सदस्यीय प्रतिनिधिमण्डललाई मलेसियाको प्याराडाइज्ड ग्रुप कम्पनीका कार्यकारी अध्यक्ष दातो प्रदीपकुमार कुक्रेजाले नेतृत्व गरेका थिए। प्रतिनिधिमण्डलले नेपालको व्यावसायिक वातावरणबारे जानकारी लिन तथा नेपालमा नयाँ उद्यम स्थापना गर्न सम्बन्धित सरकारी निकायहरूसँग संवाद गर्न आएको जनाएको छ।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिका लागि विदेशी लगानी अपरिहार्य रहेको बताउँदै, सरकारले लगानीमैत्री कानुनी, नीतिगत तथा संरचनागत सुधारहरू गर्दै आएको जानकारी दिए। साथै, भविष्यमा थप सुधार र सहजीकरणका लागि निजी क्षेत्रसँग सहकार्यमा सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ थियो।
प्रतिनिधिमण्डलले नेपालमा फोहोर (विशेषगरी प्लास्टिक) प्रशोधन, सूचना प्रविधि पार्क निर्माण, पर्यटन प्रवर्द्धन लगायत विविध क्षेत्रमा लगानीको इच्छा व्यक्त गरेको छ। भेटमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा तथा अन्य क्षेत्रहरूमा लगानीको सम्भावनाबारे समेत छलफल गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे