
(नवलपरासी) – देशभरका मगर समुदायले ४३औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएका छन्। मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानहरूमा सांस्कृतिक झाँकी प्रदर्शन, मगर भाषा तथा संस्कृतिसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्।
नेपाल मगर संघका केन्द्रीय सदस्य इन्द्र फाल मगरका अनुसार, मगर स्थापना दिवसका अवसरमा देशभरका जिल्ला, नगर तथा गाउँपालिकास्तरीय मगर संघहरूले कार्यक्रम आयोजना गरेका छन्। साथै, विदेशस्थित मगर संघसंस्थाहरूले पनि दिवसका अवसरमा विभिन्न गतिविधिहरू सम्पन्न गरेका छन्।
नेपाल मगर संघका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले मगर समुदायमा प्रचलित लोकसंस्कृति लोपोन्मुख अवस्थामा रहेको भन्दै दिवसले यसको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार, सालैजो, झ्याउरे, कौडा जस्ता मगर समुदायका मौलिक सांस्कृतिक पहिचानहरू जगेर्ना गर्न तथा नयाँ पुस्तालाई मगर भाषा, इतिहास, परम्परा र संस्कृतिबारे जानकारी गराउन दिवसले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मगर समुदायको अधिकार र अस्तित्व रक्षा गर्ने संकल्पसहित स्थापित नेपाल मगर संघको स्थापनाको सम्झनामा प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाइँदै आएको छ।
विसं २०३९ फागुन १४, १५, १६ गते तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा फागुन १५ गते मगर एकता दिवस मनाउने परम्परा बसेको हो।
नेपाल मगर संघको चौथो महाधिवेशनले सन् १९९१ (विसं २०४८) मा नेपाल लाङ्घाली परिवार संघको नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ राख्ने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार ४९८ रहेको छ, जुन कुल जनसंख्याको ६.९ प्रतिशत हो।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मगर समुदायको जनसंख्या एक लाख तीन हजार ९४९ रहेको छ, जुन जिल्लाको कुल जनसंख्याको २७.४९ प्रतिशत हो।
मगर समुदायको महत्वपूर्ण दिवसलाई सम्मान गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठ पालिकाहरूले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन्।
गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्ना मातहतका सबै कार्यालयहरू बन्द गरिएको जानकारी दिएका छन्।
मगर समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस वर्षको मगर एकता दिवस भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे