
काठमाडौँ , १ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा अवैध ढङ्गले सञ्चालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। बिहीबार राति अनुगमन गर्न आउनुभएको मुख्यमन्त्री सिंहले दर्ता नगरी सञ्चालन भइरहेका अस्पताल तथा पोलिक्लिनिकहरूलाई तत्काल बन्द गर्न आदेश दिएका हुन् । उनले प्रादेशिक अस्पताल मलङ्गवा र अन्य १८ वटा निजी अस्पतालको अनुगमन गर्दै अस्पतालको व्यवस्थापन सुधारका लागि निर्देशन दिएका छन् ।मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालको क्यान्टिनमा स्वच्छता कायम गर्न, आकस्मिक कक्षमा जनशक्ति व्यवस्थापन गर्न र अन्य सुधारका उपायहरू लागू गर्न निर्देशन दिएका छन्। अनुगमनको थाहा पाएपछि मलङ्गवाका अधिकांश निजी अस्पताल सञ्चालकहरू अस्पताल बन्द गरेर भागेका थिए।
यसअघि नवलपुरमा पनि मुख्यमन्त्री सिंहको अनुगमनमा अवैध अस्पताल सञ्चालकले भागाभाग गरेका थिए। उनले म्याक्स अस्पताल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर लगायत १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ। केही अस्पताल सञ्चालकले नवीकरण प्रक्रिया ढिलो भएको गुनासो गरे पनि मुख्यमन्त्री सिंह प्रदेशभरका स्वास्थ्य संस्थाको अनुगमन गर्ने अभियानमा सक्रिय रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे