
काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सम्झौताबारे चीनको भूमिकाप्रति गम्भीर आशंका व्यक्त गरेको छ। बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले चीनले नेपालको अडानलाई स्पष्ट रूपमा समर्थन नगरी पन्छिन खोजेको आरोप लगाए।
सांसद बडूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको हालैको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विगतदेखि राख्दै आएको कूटनीतिक पहल र प्रोटेस्ट नोटहरूको सन्दर्भमा स्पष्ट रूपमा कुरा राखेको बताए। तर, चीनका राष्ट्रपतिले नेपाल-भारत दुवै पक्षले मिलेर समाधान गर्नुपर्ने विषय भन्दै पन्छिने शैलीमा जवाफ दिएको उनको भनाइ छ। बडूले भने, “यो संवेदनशील विषयमा चीनको यस्तो जवाफलाई सकारात्मक मान्न सकिँदैन।”
उनका अनुसार, नेपालले सधैँ चीनको ‘एक चीन’ नीतिलाई समर्थन गर्दै आएको छ, तर चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति अपेक्षित सम्मान नदेखाएकोमा प्रश्न उठेको छ। उनले भने, “नेपालले हाम्रो सार्वभौमिकताको विषयलाई बुझाउन नसकेको हो वा चीनले बुझ्नै नचाहेको हो भन्ने प्रश्न अब स्पष्ट हुनुपर्नेछ।”
सांसद बडूले प्रधानमन्त्री ओलीले लिपुलेक सम्झौताप्रति राखेको आपत्तिको सन्दर्भ चीनको परराष्ट्र मन्त्रालयको प्रेस नोटमा नै उल्लेख नभएको विषयलाई पनि आपत्ति जनाए। बरु नेपालले सहमति जनाएको भनिएको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (GSI)’ एजेन्डा मात्र प्रेस विज्ञप्तिमा आएको भन्दै उनले सरकारसँग स्पष्टिकरण मागे।
उनले प्रश्न गरे, “लिपुलेकजस्तो संवेदनशील विषयलाई किन प्रेस विज्ञप्तामा स्थान दिइएन? बरु छलफलको एजेन्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको उल्लेख किन र कसरी आयो?” यस विषयमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै जनतालाई जानकारी दिनुपर्ने उनले जोड दिए।
सांसद बडूको भनाइ अनुसार, नेपाल-चीन सम्बन्ध परस्पर सम्मान र आपसी हितमा आधारित हुनुपर्ने हो। तर, नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताप्रति देखिएको उदासीनताले गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे