
काठमाडौं । नेपालमा १८ घण्टासम्मको लामो लोडशेडिङ अन्त्य गरेर राष्ट्रिय रुपमा चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘उज्यालो अभियान’ सुरु गर्ने घोषणा गरेका छन्। उनले उक्त घोषणा बहराइनमा नेपाली समुदायले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा गरेका हुन्।
कार्यक्रममा बहराइनस्थित विभिन्न संघसंस्था र गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले घिसिङलाई नागरिक अभिनन्दन गरेका थिए। संयुक्तरुपमा आयोजित कार्यक्रममा संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, एनआरएनए बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापो लगायतले अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए।
अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पनि राजनीतिक दलको प्रतिनिधि वा सरकारी कर्मचारीको रुपमा नभई केवल जिम्मेवार नागरिकको हैसियतले बहराइन आएको प्रष्ट पारे। ‘म कुनै दलको झन्डा लिएर आएको होइन, सरकारको प्रतिनिधि भएर पनि आएको होइन। तपाईंहरूसँग हातेमालो गरेर सकारात्मक परिवर्तनको अभियान अघि बढाउन आएको हुँ,’ घिसिङले भने।
उनले बहराइनबाट ‘उज्यालो अभियान’ आरम्भ गरेको घोषणा गर्दै यो अभियान अन्य मुलुकहरूमा समेत विस्तार गर्ने संकेत दिए। ‘तपाईंहरू जसरी अघि बढ भन्नुहुन्छ, म त्यस्तै गरी मेरा पाइला अघि बढाउनेछु,’ घिसिङले उल्लेख गरे। यद्यपि उनले अभियानको विस्तृत विवरण भने खुलाएका छैनन्।
यसअघि एक अन्तरवार्तामा घिसिङले उज्यालो अभियान केवल विद्युतको उज्यालोसँग मात्र सीमित नरहने जनाएका थिए। ‘देशभर लोडशेडिङ अन्त्य गरेजस्तै अब सामाजिक, आर्थिक र मानसिक रूपमा पनि अँध्यारो हटाउन जरुरी छ,’ उनले भने, ‘अँध्यारो भएका क्षेत्रहरू उज्यालोमा परिणत गर्नैपर्छ।’
घिसिङले राम्रो मान्छेहरूलाई नेतृत्वमा ल्याउन जोड दिँदै सामाजिक निराशा कम गर्न जनमानसमा आत्मविश्वास जगाउनु आवश्यक रहेको बताए। ‘हाम्रा होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्छ,’ घिसिङले जोड दिए।
बहराइन भ्रमणपछि घिसिङ युएई, ओमान र कतारका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्। अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने तयारीमा छन्।
सरकारले पदावधि सकिन चार महिना मात्र बाँकी रहँदा गत चैत्रमा घिसिङलाई कार्यसम्पादनमा शून्य नम्बर दिँदै बर्खास्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका छन्। यस निर्णयको विभिन्न राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका थिए। यसै सन्दर्भमा सुरु गरिएको ‘उज्यालो अभियान’ लाई धेरैले घिसिङको सम्भावित राजनीतिक प्रवेशको संकेतको रुपमा समेत विश्लेषण गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे