
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११ वटा आधारभूत विकासका कार्यक्रम र समृद्धिका २५ स्तम्भसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली ले घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनपछि पार्टी नेतृत्वको सरकार बने पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरी प्राथमिक कार्यक्रमको कार्यान्वयन सुरु गरिने स्पष्ट पारे।
घोषणापत्रअनुसार एमालेले पहिलो मन्त्रिपरिषद् बैठकबाट समयसीमा किटान गरी ११ वटा लोकप्रिय कार्यक्रम अघि बढाउने दाबी गरेको छ। ती कार्यक्रमअन्तर्गत निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने, विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिने, न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने, २५ हजार रुपैयाँसम्म ऋण मिनाहा, तथा प्रतिजन्म सुत्केरीलाई २० हजार रुपैयाँ पोषण भत्ता प्रदान गर्ने व्यवस्था समेटिएको छ।
यस्तै, समृद्धिका २५ स्तम्भअन्तर्गत पार्टीले आधा दशकमा एक सय खर्ब र एक दशकमा दुई सय खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ। स्वदेशमै रोजगारी सिर्जना, गाउँलाई गतिशील र सहरलाई आधुनिक बनाउने आर्थिक विकासको नयाँ लहर, उद्योग क्षेत्र विस्तार गर्दै उत्पादनमा २० प्रतिशत योगदान पुर्याउने, आयात घटाई निर्यात बढाउने र भुक्तानी सन्तुलन राष्ट्रिय हितअनुकूल बनाउने कार्यक्रम घोषणापत्रमा उल्लेख छन्।
घोषणापत्रमा कृषि उत्पादकत्व वृद्धि, विद्युत उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय फड्को मार्दै ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। यसैका आधारमा पाँच वर्षमा अर्थतन्त्रको आकार एक सय खर्ब र १० वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्याउने दाबी गरिएको छ।
उच्च आर्थिक वृद्धिदरमार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने र सूचना प्रविधिसहित लक्षित रोजगार कार्यक्रमबाट थप एक लाख रोजगारी थप्दै कुल पाँच लाख वार्षिक रोजगारी सिर्जना गर्ने एमालेको प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे