
विराटनगर — कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारदेखि विराटनगरस्थित प्रदेशसभा भवनमा सुरु भएको छ। दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन्।
यस बजेट अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान पत्र प्रस्तुत गरिनेछ। साथै, प्रदेश सरकारले ल्याएको ‘प्रदेश ऐन संशोधन अध्यादेश, २०८२’ पनि टेबुल गर्ने तयारी रहेको छ। विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, यस अधिवेशनमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ, जसमा ‘पर्यटन वर्ष’ र ‘लगानी सम्मेलन’ केन्द्रीय विषय हुनेछन्। “हामीले पर्यटन वर्षलाई प्राथमिकतामा राखेका छौं साथै निजी लगानी आकर्षित गर्ने कार्यक्रम समावेश गर्नेछौं,” उनले भने।
प्रदेश सरकारले बहुवर्षीय योजना कार्यान्वयन, कृषि क्षेत्रको व्यवसायीकरण, भौतिक र औद्योगिक विकासलाई प्राथमिकता दिने योजना बनाएको छ। नीति कार्यक्रम पछि असार १ गते प्रदेश बजेट प्रस्तुत हुनेछ।
हाल कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार छ, जसमा नेपाली काङ्ग्रेस पनि सहभागी छ। यस अधिवेशनमा प्रदेशको विकास नीति र आर्थिक प्राथमिकताहरू छलफल हुने अपेक्षा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे