
काठमाडौं । रत्नपार्क नजिकै सामान्य सडक अनुगमनका क्रममा ट्राफिक प्रहरीले एक सवारी चालकलाई वाकी–टकी मार्फत रोकेर लाइसेन्स र ब्लुबुक जाँच गरेका थिए। प्रारम्भिक सोधपुछमा उनलाई “लापरवाहीपूर्वक गाडी चलाएको” कारणले कारबाहीमा पारिएको जानकारी दिइयो। ट्राफिक प्रहरीको भनाइअनुसार ती चालक गाडी चलाउँदा मोबाइलमा कुरा गरिरहेका थिए, जुन सडक सुरक्षाका दृष्टिले जोखिमपूर्ण अभ्यास हो।
ट्राफिक प्रहरीले वाकी–टकीका माध्यमबाट कसुर सोध्दा “मोबाइल प्रयोग गर्दै गाडी चलाएको” भन्ने प्रतिवेदन प्राप्त भएको थियो। त्यसपछि सवारी कागजात जाँच–बुझ गरियो। सो क्रममा प्रहरीहरूले चालकसँग ‘नागरिक एप’ प्रयोग गर्छन् कि भनेर सोधे। प्रहरीको प्रक्रिया अनुसार तत्काल नगद जरिवाना नलिएर एपमार्फत रु. ५०० को डिजिटल जरिवानाको सूचना पठाइएको थियो।
चालकले ई–सेवाबाट सजिलै जरिवाना तिरेका छन् र आफूले गल्ती स्वीकारेका छन्। सो घटनापछि चालक र यात्रु दुवैले राहतको अनुभूति गरेका छन्। व्यवसायिक दृष्टिले पनि यसलाई सकारात्मक रूपमा लिइएको छ—चालकले आफ्नो ‘ड्राइभ एण्ड मोबाईल’ भन्ने बानी सुधार्ने प्रण गरेको उल्लेख गरेका छन्।
रोचक कुरा के छ भने, सो कारबाहीमा परेका सवारी चालक अरु नभई चर्चित हास्यकलाकार मनोज गजुरेल नै थिए। उनले सामाजिक सञ्जालमार्फत पनि यस अनुभवलाई साझेदारी गर्दै ट्राफिक प्रहरीको प्रविधिमैत्री पहलको प्रशंसा गरेका छन्।
गजुरेलको सामाजिक सञ्जालबाट
रत्नपार्क ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो । र, वाकीटकीमा सोध्नुभयो- ‘सर….नं. गाडीको कसुर ?’ जवाफ आयो-‘लापरवाहीपुर्वक गाडी चलाएको ।’ मैले सोधेँ- ‘कस्तो लापरबाही !’ भन्नुभयो- ‘गाडी हाँक्दै मोबाईल चलाएको ।’ थप्नुभयो-‘क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।’ फेरी प्रश्न गर्नुभयो- ‘नागरिक एप चलाउनुहुन्छ ?’ एप देखाएपछि भन्नुभयो- ‘अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला !’ म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा रु.५०० जरिवानाको नोटिस आएको रहेछ ! कारण, लापरवाही पुर्वक गाडी चलाएको ! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ 😁मन्जुपनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाईलमा बोल्ने मेरो बानीबाट उनि पनि आजीत भएकी थिईन् । ‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ ! जरिमानाले मेरो ‘ड्राईभ एण्ड मोबाईल’को खराब बानी संभवत: अब छुट्छ होला ! ट्राफिक प्रहरीले पनि सुचना र प्रविधिको प्रयोग सकारात्मक रुपमा गर्दैरहेछ । बैंक र ट्राफिक कार्यालय धाउने झण्झट भएन । ट्राफिक काउन्सिलिङ राम्रो भएछ । मुख्य कुरा- ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नैलागि दुर्घटनाको कारण बन्न सक्थ्यो ! साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो । जे होस्, देशमा केही हुँदै नभएकोचाहीँ होईन । सोचेजति नभएको मात्र हो तर केही केही त अवस्य हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे