
काठमाडौं — काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रबार बस्दैछ। महानगरले करिब ६ महिनापछि बैठक बोलाएको हो। दिउँसो २ बजे बैठक बस्ने महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए।
उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक हुनेछ, त्यसपछि कार्यपालिका बैठक हुनेछ। यो बैठक मेयर बालेन्द्र शाह (बालेन) र अन्य जनप्रतिनिधिहरूबीचको विवादका कारण लामो समयदेखि रोकिएको थियो। विवादकै कारण महानगरले अहिलेसम्म नयाँ बजेट पनि ल्याउन सकेको छैन।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा बैठक नगर्ने अडान लिएपछि कार्यपालिका बैठक हुन सकेको थिएन। तर, बजेट नै पास नहुँदा दुबै पक्षमा दबाब बढेको छ।
यसबाहेक, काठमाडौं भ्युटावर निर्माणसम्बन्धी विवादमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हटाएका थिए। तर संघीय सरकारले उनलाई पुनः महानगरमा पठाएपछि मेयरले अस्वीकार गरेका थिए।
अब भने दुवै पक्षमा चाप बढेपछि बैठक बस्न लागेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे