
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सन्तुलित व्यवसाय विस्तार, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय अनुपालनमा आधारित सुदृढ वित्तीय प्रदर्शन गरेको देखाएको छ।
बैंकले समीक्षाधीन अवधिमा ९८ करोड ७० लाख रुपैयाँको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने प्रतिकित्ता आम्दानी (EPS) १८ रुपैयाँ १० पैसा कायम भएको छ। यस अवधिमा बैंकले कुल ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकका सञ्चालन सूचक पनि उत्साहजनक देखिएका छन्। नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्डभन्दा माथि १३.२० प्रतिशतको पुँजीकोष पर्याप्तता अनुपात (Capital Adequacy Ratio) कायम गर्दै बैंकले वित्तीय मजबुती पुष्टि गरेको छ। निष्क्रिय कर्जा अनुपात (NPL) ३.३८ प्रतिशतमा झारेको छ, जुन विगतको तुलनामा सुधार संकेत गर्ने मुख्य सूचक हो।
देशभर १३० शाखा मार्फत आधुनिक बैंकिङ सेवा विस्तार गरिरहेको बैंकले नियामकीय समयसीमाभन्दा अघि नै वित्तीय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वमा प्रतिबद्धता प्रकट गरेको छ।
यस्तै, पूँजी संरचना थप सुदृढ बनाउन बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Non-convertible Preference Share) निष्कासनको प्रक्रिया अघि बढाएको छ। सो प्रयोजनका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता भइसकेको र स्वीकृति प्राप्त भएलगत्तै सेयर निष्कासन प्रक्रिया प्रारम्भ गरिने बैंकले जनाएको छ।
वितरणयोग्य मुनाफाको सन्तोषजनक स्थिति, नियामकीय पालना, सुदृढ वित्तीय सूचकांक र दीर्घकालीन पूँजी विस्तार योजनाका आधारमा कामना सेवा विकास बैंक आगामी दिनमा अझ प्रतिस्पर्धी, लगानीकर्तामैत्री र दिगो वित्तीय संस्था बन्ने दिशामा अघि बढिरहेको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे