
काठमाडौं । न्याय परिषद्को बैठक आज (आइतबार) साँझ बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन्।
सूत्रका अनुसार विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर बैठक बोलाइएको हो। परिषद्ले लामो समयदेखि न्यायाधीशहरूको सरुवा र उच्च अदालतमा रिक्त पदपूर्तिसम्बन्धी निर्णय गर्न नसकेको पृष्ठभूमिमा आजको बैठक महत्त्वपूर्ण मानिएको छ।
प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति गर्ने प्रयास गरेका थिए। तर, परिषद् सदस्यहरूबीच आवश्यक सहमति जुट्न नसक्दा अघिल्ला बैठकहरू निष्कर्षविहीन रहँदै आएका छन्।
आजको बैठकले ती विषयमा ठोस निर्णय लिने सम्भावना रहेको बताइएको छ। न्याय परिषद् स्रोतका अनुसार बैठकमा न्यायालय प्रशासनमा देखिएको गतिरोध हटाउने र रिक्त स्थान पूर्ति गर्ने विषय प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे