
काठमाडौं । झापा इनर्जी लिमिटेडले आज शुक्रबारदेखि आम सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ। कम्पनीले कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर वितरण भइसकेको थियो। कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ।
आईपीओको विक्री प्रवन्धक हिमालयन क्यापिटलका अनुसार न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन दिने अन्तिम मिति आगामी भदौ २४ गते तोकिएको छ।
झापा इनर्जीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा छ। सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ। सो आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
आयोजनाको अनुमतिपत्र बहाल अवधि अझै २२ वर्ष बाँकी छ भने इक्विटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.५५ वर्ष रहेको छ।
निवेशकहरूले झापा इनर्जीको आईपीओलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने अवसरका रूपमा लिएको देखिन्छ। कम्पनीको दीर्घकालीन सम्भावना सकारात्मक भए पनि हालको वित्तीय अवस्था सचेत रहनुपर्ने संकेत गर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे