
काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै जनप्रतिनिधिलाई संयमित भई संविधान र कानुनको परिधिभित्र बजेट निर्माण प्रक्रियामा सहभागी हुन अपिल गरेकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले जनप्रतिनिधिहरूलाई छलफलमार्फत वातावरण सम्हालेर अगाडि बढ्न आग्रह गरेकी हुन्। उनले आ–आफ्नो भूमिकामा जिम्मेवार बनेर हातेमालो गर्नुपर्ने उल्लेख गर्दै, “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने होइन, सहकार्य गर्दै अघि बढौं,” भनिन्।
उनका अनुसार असार १० गतेभित्र बजेट पेस र मसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि अहिलेसम्म कार्यपालिका, नगरसभा र बजेट तर्जुमा समितिका बैठकहरू समेत बस्न सकेका छैनन्।
उपप्रमुख डंगोलले आफूले सधैं “सहकार्य, सहमति र सहअस्तित्व”को सिद्धान्तमा रहेर काम गरेको बताउँदै जनप्रतिनिधिहरूसँग पटकपटक अनौपचारिक छलफल गरिसकेको जानकारी दिइन्।
उनले प्रमुख प्रशासकीय अधिकृतलाई दोष दिँदै मात्रै काम अवरुद्ध गर्नु नहुने बताउँदै, दोषी ठहरे कानुनअनुसार कारबाही गर्नुपर्नेमा आफू अडिग रहेको स्पष्ट पारिन्। साथै, प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना बैठक बस्नु गलत हुने र उनले जनप्रतिनिधिका प्रश्नहरूको जवाफ बैठकमै दिनुपर्ने धारणा पनि राखेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे