
काठमाडौँ , २ जेठ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्कवादी आक्रमणमा परेका नेपाली नागरिकका परिवारलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार साँझ काठमाडौँमा आयोजित इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
२०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा लर्न एण्ड अर्नु कार्यक्रमअन्तर्गत अध्ययनरत १० जना नेपाली विद्यार्थी मारिएका थिए। राजदूत बासले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आर्थिक र नैतिक सहयोग निरन्तर रहने जानकारी दिए।
उहाँले नेपाल–इजरायल सम्बन्ध शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षा क्षेत्रसम्म फैलिएको बताए। इजरायली तालिम केन्द्रबाट ४ हजारभन्दा बढी नेपालीले तालिम लिइसकेको उल्लेख गर्दै, आगामी दिनमा सूचना, सञ्चार र साइबर प्रविधिमा सहयोग विस्तार गरिने जानकारी दिए।
राजदूत बासले इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको दोहोर्याउँदै, मध्यपूर्वमा दिगो शान्ति स्थापनालाई आफ्नो मुलुकको मुख्य लक्ष्य बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे