
काठमाडौं।बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँको अधिकृत पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।
यस अन्तर्गत, बुङ्गल हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि कुल ८ लाख ३० हजार ८२४ कित्ता सेयर छुट्याएको छ। यिनलाई प्रतिकित्ता १०० रुपैयाँका दरले उपलब्ध गराइनेछ। छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका–६ र ७ का साविक पिपलकोट र कफल्सेरी गाविस अन्तर्गतका अति प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरिएको छ। बाँकी ३५ प्रतिशत भने बुङ्गल नगरपालिकाका अन्य वडाहरू—१, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित बासिन्दाहरूलाई प्रदान गरिनेछ।
यससँगै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ। यो सेयर निष्काशनको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ। वैदेशिक श्रमिकहरूले आवेदन दिने क्रममा नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त वैधानिक श्रम स्वीकृतिको प्रमाण पेश गर्नुपर्नेछ।
सेयर आवेदनको न्यूनतम सीमा १० कित्ता तोकिएको छ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म रहनेछ। यद्यपि, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा उक्त म्याद साउन २६ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने साउन ११ गतेलाई नै अन्तिम म्यादको रूपमा तोकिएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रको समावेशी सहभागिता र वैदेशिक श्रमिकहरूको पूँजी पहुँचलाई प्रोत्साहन गर्न यस प्रकारको सेयर निष्काशन सार्वजनिक गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे