
काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर अपडेट गर्न त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएकी छन्।
आज मन्त्रालयबाट भएको भर्चुअल बैठकमा मन्त्री डा राणाले लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र स्वास्थ्यको बारेमा नेपालमा बढ्दो चिन्ता व्यक्त गरिन्। उनले दूतावासलाई ती नेपाली र उनीहरूका परिवारसँग निरन्तर सम्पर्क राख्न र आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिइन्।
मन्त्रीले भनिन्, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, यदि कोही तत्काल स्वदेश फर्कन चाहन्छन् भने त्यसका लागि आवश्यक समन्वय गर्नुहोस्। यदि उद्धार गर्नुपर्ने अवस्था आउनसक्छ भने गृहकार्यमा ध्यान दिनुहोस्।”
साथै, उनले दूतावासहरूलाई सूचना जारी गरेर सम्पर्क व्यक्तिहरू तोक्न र समस्यामा परेका नेपालीलाई सहयोग र समन्वय प्रदान गर्न ‘हेल्पडेस्क’ स्थापना गर्न पनि निर्देशन दिइन्।
इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित भएको बताए। उनले हाल करिब १,२०० नेपाली रहेको अनुमान गर्दै सो समूहका अधिकांश व्यक्तिहरू घरायसी काममा संलग्न रहेको जानकारी दिए। लम्सालले दूतावासले जारी गरेको सूचनामा तीन जनाको मात्र सम्पर्क आएको र उनीहरू पनि बेरुतमा सुरक्षित रहेको उल्लेख गरे।
इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले पनि इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ करिब ४,५०० नेपाली सुरक्षित रहेको जानकारी दिए। सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे पनि जानकारी गराए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे