
एजेन्सि । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तीमा १२७ जनाको मृत्यु भएको छ । यसबाहेक अस्पतालमा १६० जनाको उपचार भइरहेको छ । एक टोलीले खेल हारेपछि ठूलो मात्रामा हिंसा भड्कियो। एएफपी समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । पूर्वी जाभामा भएको एक खेलपछि आक्रोशित समर्थकले फुटबल मैदानमा आक्रमण गर्दा ठुलो मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना प्रहरी पनि रहेका छन् । समाचार एजेन्सी एएफपीले पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै ३४ जनाको रंगशालाभित्र र बाँकीको अस्पतालमा मृत्यु भएको जनाएको छ ।
फुटबल खेलमा किन हिंसा भड्कियो ?
इन्डोनेसियामा भएको खेलमा पर्सेबाया सुराबायाले अरेमा एफसीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । त्यसपछि अरेमा एफसीका हजारौं फ्यानहरु खेल मैदानमा पसेर हिंसा सुरु गरेका थिए । यसपछि स्थानीय प्रहरी र इन्डोनेसियाली राष्ट्रिय सशस्त्र बलका सदस्यहरू मैदानमा प्रवेश गरे र पर्सेबाया सुरबायाका खेलाडीहरूलाई संरक्षण गरियो। सो क्रममा दुई पक्ष विच झडपले उग्र रुप लिएको बताइएको छ ।
सुरक्षाकर्मी र समर्थकबीच झडप
स्थानीय सञ्चारमाध्यमका अनुसार फुटबल ग्राउण्डमा सुरक्षाकर्मी र समर्थकबीच झडप भएको थियो । यस क्रममा फ्यानहरुले सुरक्षाकर्मीमाथि सामान फ्याँक्न थालेका थिए । त्यसपछि भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रयोग गरिएको थियो ।
पिटी लिगा इन्डोनेसिया बारु (एलआईबी) का अध्यक्ष अखमद हदियान लुकिताले भने, ‘हामी यस घटनाप्रति चिन्तित र गहिरो दुःख व्यक्त गर्दछौं। हामी समवेदना प्रकट गर्दछौं र आशा गर्दछौं कि यो हामी सबैको लागि एक पाठ हुनेछ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे