
धनुषा -धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ। शनिबार एक विशेष कार्यक्रमका दौरान मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योगको समुद्घाटन गरेका थिए।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका स्रोतहरूमा समृद्धि रहेको उल्लेख गर्दै, यसको सदुपयोगले नेपाललाई समृद्ध बनाउन धेरै अवसरहरू सिर्जना गर्न सकिने बताए। उनले लुब्रिकेन्ट जस्तो अत्यावश्यक वस्तुको उत्पादनको प्रारम्भलाई ठूलो सफलता मान्दै, यसले रोजगारी सिर्जना र आर्थिक उत्पादनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।
अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादनहरूले ग्राहकको रोजाइमा स्थान बनाउन मद्दत गर्ने बताए। उनले यो स्तरको प्लान्टको निर्माणलाई नेपालको लागि गौरवको विषय भनेका थिए।
युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिब ५० करोडको लागतमा निर्मित सो उद्योगले उत्पादन गर्ने लुब्रिकेन्ट, ग्रिज र अन्य सामग्रीको मूल्य विदेशबाट आयात गरिएका वस्तुहरू भन्दा कम हुने जानकारी दिएका थिए।
सो उद्योगमा १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ। यहाँ मासिक १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ। उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्ने र तयार लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्ने योजना बनाएको छ।
उद्योगमा अहिले ‘भिडोल’ ब्रान्डको लुब्रिकेन्ट उत्पादन सुरु भएको छ, र यहाँ ‘नेपाल गोल्ड’ लुब्रिकेन्ट पनि उत्पादन भइरहेको छ। सो उद्योगमा ५० जनाले रोजगारी पाएको र भारत तथा वेलायतबाट आएका प्राविधिकहरूले कामदारलाई प्रशिक्षण दिइरहेको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे