
काठमाडौँ, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आजदेखि गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गरेका छन् । सोमबार र मङ्गलवार २ दिनका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित छन् ।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु छलफल भोलिसम्म जारी रहनेछ । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका छन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ ।
अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले श्रम आप्रवासन सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे