
काठमाडौँ , २२ साउन । नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बङ्गलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ। आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन्।
आन्दोलनका प्रमुख संयोजक मध्येका एक नाहिद इस्लामले मंगलबार बिहान सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा ८४ वर्षीय युनुससँग कुरा भइसकेको र बंगलादेश बचाउन यो महत्वपूर्ण जिम्मेवारी लिन तयार रहेको बताए ।
यूनुसले बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।
१५ वर्षसम्म सत्ता चलाएकी हसिनाले राजीनामा दिएसँगै हिंसात्मक प्रदर्शनहरू रोकिएका छन्। आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले मंगलबार फेसबुकमार्फत एउटा भिडिओसमेत सार्वजनिक गरेका छन्। उनीहरूले सेना नेतृत्वको सरकार नस्वीकार्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे