
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्वाचन आयोगले निर्धारण गरेको छ। आयोगले भौगोलिक सुगमता र दुर्गमताका आधारमा निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा तोकेको हो।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यस अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १, ३, ६, ७ र ८ पर्दछन्। त्यसैगरी १७ निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
यसैगरी ६५ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा २९ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, ५२ निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् भने २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म निर्वाचन खर्च गर्न सक्नेछन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन क्षेत्रको भौगोलिक अवस्था, पहुँच र लागतका आधारमा खर्च सीमा निर्धारण गरिएको हो।
आयोगले उम्मेदवारलाई खर्च पारदर्शी बनाउन बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्न अनिवार्य गरेको छ। निर्वाचनसँग सम्बन्धित सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्नेछ। साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम, नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा सदस्य ऐनबमोजिम उम्मेदवारले तोकिएको खर्च सीमाभित्र रहेर मात्र खर्च गर्नुपर्नेछ। निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे