
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार तोकिएको समयसीमाभित्र कार्यालय परिसरमा प्रवेश गरी लाममा बसिसकेका उम्मेदवारले बेलुकी ५ः०० बजेपछिसमेत मनोनयन दर्ता गर्न पाउनेछन्। सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले आवश्यक कागजातसहित मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न आयोगले आह्वान गरेको छ।
आयोगका अनुसार आजै बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म प्रारम्भिक उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन माघ ६ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मको समय तोकिएको छ। त्यसपछि माघ ७ गतेदेखि माघ ८ गतेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ।
जाँचबुझ सम्पन्न भएपछि माघ ८ गते बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ः०० देखि ३ः०० बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे