
काठमाडौँ। हिन्दुकुश हिमालय क्षेत्रका विश्वविद्यालयबीच समन्वय, सहकार्य र ज्ञान आदानप्रदानलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौँ विश्वविद्यालयअन्तर्गत रहेको हिमालयन युनिभर्सिटी कन्सोर्टियम सचिवालयले चैत ४ र ५ गते दुई दिने सरोकारवाला भेलाको आयोजना गर्ने भएको छ। उक्त भेलामा ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपति, विभिन्न देशका राजदूत, प्राज्ञिक संस्थाका प्रमुख तथा अन्य सरोकारवाला पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ।
यसअघि २०८२ मंसिर २४ गते अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले कन्सोर्टियम सचिवालयको जिम्मेवारी काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो। सो जिम्मेवारी पाएपछि पहिलो पटक यति उच्चस्तरीय सहभागितासहितको कार्यक्रम आयोजना हुन लागेको हो।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेका अनुसार भेलामा बहुपक्षीय सहकार्यलाई जोड दिँदै कन्सोर्टियमको दीर्घकालीन कार्ययोजना तथा वित्तीय दिगोपनाबारे छलफल हुनेछ। उनले यस्तो स्तरको उपकुलपतिहरूको सहभागितासहितको कार्यक्रम पहिलोपटक आयोजना हुन लागेको उल्लेख गरे।
कन्सोर्टियमले खाद्य, ऊर्जा, पानी, हिउँमण्डल, विपद् जोखिम, परम्परागत ज्ञान प्रणाली, जलवायु परिवर्तन, कार्बन सन्तुलन, हिमालय कृषि र हरित अर्थतन्त्रलगायतका १२ प्रमुख क्षेत्रमा काम गर्दै आएको छ। यी क्षेत्रहरूले हिमालय क्षेत्रको दीर्घकालीन विकास दिशा निर्धारण गर्ने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक डा. पेमा ग्याम्सोले कन्सोर्टियमलाई सीमित राष्ट्रमा मात्र सीमित नराखी बौद्धिक विविधता विस्तार गर्दै अझ व्यापक बनाउने योजना रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे