
काठमाडौं — आज साउन महिनाको पहिलो सोमबारको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । विशेषगरी शिवभक्त व्रतालुहरू साउने सोमबारका दिन भगवान पशुपतिनाथको दर्शन र पूजाआराधनाका लागि लामो समयदेखि प्रतीक्षा गर्दै आएका थिए ।
साउनलाई हिन्दू धर्ममा भगवान शिवको प्रिय महिना मानिन्छ । विशेषतः सोमबारलाई शिवको प्रिय बारका रूपमा पूजिने परम्परा अनुसार यस दिन श्रद्धालुहरूले ब्रत बस्ने, दुग्धाभिषेक गर्ने र शिव मन्दिरहरूमा पूजाआजा गर्ने चलन छ । पशुपतिनाथ मन्दिर परिसरसहित देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत बस्ने धार्मिक मान्यता रहेको पाइन्छ । तर पशुपतिनाथ मन्दिरमा भने साउनको सोमबार विशेष महत्वका साथ मनाइने भएकाले सौरमास र चान्द्रमास दुवैअनुसार भक्तजनहरू जुट्ने गरेका छन् । यसवर्ष साउन महिनामा जम्मा चारवटा सोमबार परेका छन्, जसका सबै दिनहरूमा पशुपतिनाथ परिसरमा भक्तजनको भिड रहने अपेक्षा गरिएको छ ।
महानगरीय प्रहरी, पशुपति क्षेत्र विकास कोष, र स्वयंसेवक समूहहरू सक्रिय रूपमा भक्तजनको भीड व्यवस्थापनमा खटिएका छन् । पशुपतिनाथ क्षेत्रभित्र भक्तजनलाई दर्शनमा सहजता दिलाउन विशेष मार्ग व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे