
काठमाडौं, साउन १८। देशका विभिन्न स्थानमा लगातार भइरहेको वर्षाका कारण नदी तथा खोलाहरूको जलसतह बढ्दै गएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ। भक्तपुरको हनुमन्ते खोलाको जलसतह सतर्कता तह आसपास पुगिसकेको र अझै बढ्ने क्रममै रहेको छ। रुकुमपश्चिमको ठूलो भेरी खोलासमेत सतर्कता तहमा पुग्न लागेकाले नदी किनारमा बसोबास गर्ने र यात्रा गर्नेहरूलाई बिहानसम्म विशेष सावधानी अपनाउन भनिएको छ।
म्याग्दी खोलामा पनि जलसतह सतर्कता पार गर्ने क्रममा रहेकाले डुबान र पहिरोको जोखिम रहेको चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुन सक्रिय रहेको छ। आइतबार दिउँसो र राति देशभर सामान्य बदली रही धेरै स्थानहरूमा चट्याङसहित मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कमजोर भूभागमा पहिरोको जोखिम पनि देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे