
काठमाडौं, १२ साउन। बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाद्वारा दायर गरिएको पुनर्बहालीको मागसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा अन्तरिम आदेश दिनुपर्ने/नपर्ने विषयमा छलफल हुँदैछ। उक्त रिटमाथि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाइ तय भएको हो।
गत असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ओझाविरुद्ध छानबिन गर्न समिति गठन गर्दै उनलाई तत्कालका लागि निलम्बनमा पठाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध ओझाले साउन १० गते सर्वोच्च अदालतमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि साउन ११ गते प्रारम्भिक बहस भएको थियो।
अन्तरिम आदेशको सन्दर्भमा थप छलफल गर्न सर्वोच्च अदालतले आजका लागि विपक्षीका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र छानबिन समितिलाई समेत उपस्थित हुन बोलाएको छ। अदालतले उनीहरूबाट लिखित र मौखिक जवाफ माग गर्ने तयारी गरेको बताइएको छ।
ओझाले आफू कानुनतः योग्य हुँदाहुँदै व्यक्तिगत आक्षेप र नियोजित रूपमा निलम्बन गरिएको दाबी गरेका छन्। उनले मन्त्रिपरिषद्को निर्णय बदर गर्दै आफूलाई पुनर्बहाली गरिनुपर्ने माग गरेका छन्। अर्कोतर्फ, सरकारले भने ओझाले बिमा प्राधिकरणको अध्यक्ष हुनका लागि आवश्यक न्यूनतम योग्यतासमेत नभएको र उनले फर्जी कागजातका आधारमा नियुक्ति लिएको आरोपसहित छानबिन समिति गठन गरिएको जनाइएको छ।
अब अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आजको छलफलपछि प्रारम्भिक धारणा बनाउने अपेक्षा गरिएको छ। मुद्दाको विस्तृत सुनुवाइ भने पछि तोकिएको मितिमा अघि बढाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे