
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतलाई नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भन्दै यसको संरक्षण र प्रवर्द्धनका लागि सरकार तयार रहेको बताउनुभयो। ललितपुर मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ कार्यक्रममा बोल्दै उहाँले यसको प्रवर्तक शंखधर साख्वाले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका जनताको ऋण मोचन गरी सामाजिक न्यायको मिसाल स्थापित गरेको बताउनुभयो। यही कार्यकै सम्मानमा नेपाल संवतको सुरुवात भएको र पछि उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको उहाँले स्मरण गराउनुभयो।
प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले भन्नुभयो — यो आन्दोलनले भ्रष्टाचारविरुद्धको चेतना जगाएको छ, र अब संविधानको अधीनमा रहेर सुशासन र जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सरकार दृढ रहेको पनि उहाँले बताउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे