
काठमाडौँ , जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । बुधवार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यावहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री दाहालले बताए ।
उनले भने , ‘दिगो विकासको मान्यतामा, हाम्रो सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारमा हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको छ । हामी नवीकरणीय ऊर्जा परियोजनाहरू, दिगो कृषि अभ्यासहरू र हरियो प्रविधिहरू अन्वेषण गर्दैछौँ जुन हाम्रो राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मिल्दोजुल्दो छ । नेपालले पेरिस सम्झौताप्रति सधैँ आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ र हाम्रो राष्ट्रिय विकास योजना र कार्यक्रमहरूमा जलवायु कार्यलाई सक्रिय रूपमा समावेश गर्दै आएको छ ।
सरकारले ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै उनले त्यसले नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास व्यक्त गरे । उनले वैदेशिक लगानी भित्र्याउन नेपाल युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे