
गोरखा । गोरखाबाट एकीकरण पदयात्रामा नेपाली सेनाको टोली निस्किएको छ। यो पदयात्रा नेपालको एकीकरणका इतिहाससँग सम्बन्धित पदमार्गको प्रचारप्रसारका लागि गरिएको हो। टोली गोरखाबाट प्रारम्भ गरी धादिङ, नुवाकोट हुँदै काठमाडौँको हनुमान ढोका दरबारसम्म यात्रा गर्नेछ।
नेपाली सेनाका रिपुर्मदन गण गोरखाका प्रमुख सेनानी अशोककुमार क्षेत्रीका अनुसार, यो पदयात्रा २७ पुसमा काठमाडौँको हनुमान ढोका दरबारमा आयोजित पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसको विशेष समारोहमा समापन हुनेछ। यस अवसरमा नेपाली सेनाले ऐतिहासिक एकीकरण पदमार्गको प्रचारप्रसार र इतिहासको संरक्षणका लागि यो कार्यक्रम आयोजना गरेको उल्लेख गरेका छन्।
यस पदयात्राले गोरखा दरबारस्थित पृथ्वीनारायण शाहद्वारा गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरिएको पैदलमार्गमा यात्रा गर्नेछ। सेनाको टोलीले उक्त मार्गमा नेपालको राष्ट्रिय झण्डा र लाइट बोकेर यात्रा थालेको छ। त्यस्तै, नेपाल एकीकरणका अभियानका क्रममा पृथ्वीनारायण शाहले स्थापना गरेका पहिलो पाँच कम्पनी—श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सुवज गणका झण्डा पनि टोलीसँग रहेको सेनानी क्षेत्रीले बताए।
पदयात्रामा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा नेपाली सेनाले अभियानको थालनी गरेको हो। गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लगिएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ। त्यसपछि धादिङको टोलीले नुवाकोटको सेनालाई झण्डा र लाइट हस्तान्तरण गर्नेछ। नुवाकोटको टोलीले पनि काठमाडौँको सेनालाई उक्त झण्डा र लाइट हस्तान्तरण गर्नेछ।
यस पदयात्राले एकीकरणको ऐतिहासिक मार्गलाई महत्व दिँदै, नेपाली सेनाले गएको छ वर्षदेखि यो अभियानलाई प्रचारित गर्दै आएको छ। यस अवसरमा सेनाका उच्च अधिकारीहरु, गोरखा जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र अन्य स्थानीय नेताहरूले टोलीलाई बिदाइ दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे