
काठमाडौं — थोमस मोर युनिभर्सिटी (TMU) को प्रतिनिधिमण्डलले हालै काठमाडौंमा एक विशेष सूचना सत्र सम्पन्न गरेको छ। उक्त सत्र नेपाली विद्यार्थीहरूलाई शैक्षिक अवसरहरूको जानकारी गराउन र विश्वविद्यालयसँगको साझेदारीलाई सुदृढ बनाउन आयोजन गरिएको बताइएको छ।
सत्रमा मिस्टर जस्टिन भोगलले थोमस मोर युनिभर्सिटीको उद्देश्य, भौगोलिक अवस्थिति र प्रमुख शैक्षिक कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी दिएका थिए। उनले विश्वविद्यालयको विशिष्टताहरू प्रस्तुत गर्दै नेपाली विद्यार्थीहरूका लागि ब्याचलर प्रोग्रामहरूमा पचास प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइने जानकारी गराएका थिए।
त्यसैगरी, विश्वविद्यालयकी ग्लोबल रिक्रुटमेन्ट डाइरेक्टर स्टेसी मारी लभले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध विभिन्न समर्थन सेवाहरू र करियर अवसरहरूको बारेमा प्रस्तुति दिएकी थिइन्। उनले केही नेपाली विद्यार्थीहरूको सफलताको प्रेरणादायक कथाहरू पनि प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमको क्रममा आयोजित खुला प्रश्नोत्तर सत्रमा सहभागीहरूले विश्वविद्यालयका प्रमुख कार्यक्रमहरू, आवेदन प्रक्रिया र अन्य शैक्षिक विषयमा जिज्ञासा राख्न पाएका थिए।
आवेदन प्रक्रिया र आवश्यकताहरूका सम्बन्धमा ग्लोबल युनि सर्चका निर्देशक ज्याक्सन सुबेदिले जानकारी गराएका थिए। उनले आवेदन गर्दा आवश्यक पर्ने कागजातहरू र प्रायः हुने गल्तीहरूबाट कसरी जोगिने भन्ने विषयमा पनि सुझाव दिएका थिए।
सत्रका दौरान ग्लोबल युनि सर्चले नेपालमा थोमस मोर युनिभर्सिटीको विशेष एडमिसन पार्टनरको रूपमा काम गरिरहेको घोषणा गरिएको थियो, जुन स्मार्ट एड्भेन्चर्ससँगको सहकार्यमा सम्भव भएको बताइएको छ।
स्मार्ट एड्भेन्चर्सले वैश्विक रूपमा थोमस मोर युनिभर्सिटीको विद्यार्थी भर्ना व्यवस्थापन गरिरहेको जानकारी पनि दिइएको थियो।
ज्याक्सन सुबेदिले थप जानकारी दिँदै थोमस मोर युनिभर्सिटी, केन्टकी, अमेरिकामा अवस्थित, प्रोफेशनल MBA (STEM) र मास्टर इन पब्लिक हेल्थ जस्ता प्रतिष्ठित कार्यक्रमहरूका लागि प्रसिद्ध रहेको उल्लेख गरेका थिए। साथै, विश्वविद्यालयले BBA (STEM) कार्यक्रम पनि प्रदान गरिरहेको र स्वास्थ्य सेवा, वित्त, डाटा एनालिटिक्स तथा व्यवस्थापन जस्ता क्षेत्रहरूमा विशेषज्ञता विकासका अवसरहरू उपलब्ध गराइरहेको जानकारी गराएका थिए।
सत्रको अन्त्यतिर स्मार्ट एड्भेन्चर्सका अध्यक्ष पवन श्रीवास्तवले साझेदारीका फाइदाहरू र पार्टनरहरूलाई प्रदान गरिने समर्थन सेवाहरूका विषयमा चर्चा गरेका थिए।
कार्यक्रमको समापनमा ग्लोबल युनि सर्च र थोमस मोर युनिभर्सिटीका प्रतिनिधिहरूले सहभागीहरूलाई “Token of Love” वितरण गर्दै धन्यवाद व्यक्त गरेका थिए। समापनपछि सहभागीहरूले व्यक्तिगत रूपमा विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तिम संवाद र नेटवर्किङ गर्ने अवसर पाएका थिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे