
काठमाडौं। जेनजी आन्दोलनले नेपालको निजी क्षेत्रलाई गम्भीर आर्थिक र मानसिक झटका दिएको पाइएको छ। क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन अनुसार, ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर परेको र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको प्रतिक्रिया दिएका छन्।
क्लिकमान्डु रिसर्चले नेपालका उद्योग, वित्तीय, पर्यटन, सेवा, ऊर्जा, शिक्षा, स्वास्थ्य र निर्माण क्षेत्रका १२१ जना प्रमुख लगानीकर्ता व्यवसायीहरूलाई सर्वेक्षणमा समावेश गर्दै बहुआयामिक असर विश्लेषण गरेको छ। सर्वेक्षण अनुसार, ७० प्रतिशत व्यवसायी थप लगानीका लागि ‘पर्ख र हेर’ अवस्थामा रहेका छन् भने २१ प्रतिशत थप लगानी गर्न इच्छुक छन्।
प्रतिवेदनले जेनजी आन्दोलनको कारण व्यवसायीहरूको मानसिक प्रभाव र आर्थिक असर विशेष रूपमा उच्च रहेको देखाएको छ। ६७ प्रतिशत व्यवसायीमा मनोवैज्ञानिक क्षति देखिएको छ भने ५४ प्रतिशतले बजार प्रभावित भएको बताएका छन्। प्रत्यक्ष भौतिक क्षति करिब ३४ अर्ब रूपैयाँ पुग्दा अप्रत्यक्ष आर्थिक क्षति करिब ८१ अर्ब रूपैयाँ अनुमान गरिएको छ।
क्लिकमान्डुका अनुसार, निजी क्षेत्रमाथि आक्रमण र भौतिक क्षति मुख्यतया अफवाह, भ्रमपूर्ण सूचना, नकारात्मक दृष्टिकोण र व्यक्तिगत रिसाइबी/कुण्ठाका कारण भएको देखिएको छ। यसले नेपालको कुल घरेलु उत्पादनमा करिब ५ प्रतिशत प्रभाव पार्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले सरकारले लगानी सुरक्षा, कानुनी प्रत्याभूति, आर्थिक स्थिरता, उद्योगी सुरक्षा र इकोनोमिक इन्टेलिजेन्स ब्युरो स्थापना जस्ता उपाय तुरुन्त लागू गर्नुपर्ने सुझाव दिएको छ। साथै, युवाको असन्तुष्टि, समान अवसर र निजी–सरकारी समन्वयको स्पष्ट रोडम्याप तयार गर्नुपर्नेमा जोड दिइएको छ।
अध्ययनले स्पष्ट पारेको छ कि जेनजी आन्दोलनबाट उत्पन्न आर्थिक असुरक्षा र व्यवसायी मनोबलमा परेको झटका तत्कालीन राहत प्याकेजले आंशिक मात्र कम गर्न सक्दो हो। दीर्घकालीन रूपमा निजी क्षेत्रको विश्वास पुनःस्थापना र वैदेशिक लगानीको आकर्षण बढाउन स्थायी सरकार, नीति निरन्तरता र आर्थिक कूटनीतिक पहल आवश्यक छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे