
काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। संसद भवनको एक नम्बर गेटमा भएको भिडन्तका क्रममा गोली लागेर थप एक व्यक्तिको ज्यान गएको हो।
यसअघि आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै, थप तीन जना प्रदर्शनकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (ट्रमा सेन्टर)मा र एक जनाले सिनामंगलस्थित केएमसी अस्पतालमा ज्यान गुमाएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी र प्रहरीबीच भीषण झडप भएको थियो। घटनापछि बानेश्वर क्षेत्र उच्च सुरक्षा सतर्कतामा राखिएको छ।
प्रहरीका अनुसार झडपमा सोह्र जना प्रहरी गम्भीर घाइते भएका छन्। यस्तै, भिडन्तका क्रममा तीन जना पत्रकार समेत घाइते भएका छन्।
आन्दोलन नियन्त्रणका लागि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रयोग गरेको थियो भने प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए।
झडपका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले थप बल परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे