
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमा कार्यक्रम सुधार गरी हरेक नेपाली नागरिकले पहुँच पाउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा जारी भिडियो सन्देशमा भने, पैसा नभएकै कारण कसैले उपचारबाट वञ्चित हुनु हुँदैन। उनका शब्दमा, “हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी।”
सभापति थापाले स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने र सबैलाई कभर गर्ने लक्ष्य रहेको बताए। उनले तीन तहको स्वास्थ्य प्रणालीलाई जोड्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने र डिजिटल प्रणालीमार्फत चुहावट रोक्ने योजना रहेको जानकारी दिए।
भिडियोमा उनले आफ्नो स्वास्थ्य मन्त्रीकालको अनुभव स्मरण गर्दै, धेरै नागरिक पैसा नभएर उपचार छोड्न बाध्य भएका र परिवारको सम्पत्ति सकिएको देख्दा स्वास्थ्य बिमा सुरु गरिएको बताउनुभयो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खल्तीबाट हुने स्वास्थ्य खर्च न्यूनतम हुनुपर्ने भए पनि नेपालमा तीन गुणा बढी खर्च भइरहेको उनको भनाइ थियो।
थापाले कांग्रेसले जिम्मेवारी पाएमा स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राख्ने, कभरेज बढाउने र खर्च लागे पनि सबै नागरिकलाई (केही अपवादबाहेक) कभर गर्ने योजना रहेको दाबी गर्नुभयो। यसले नागरिकले घरखेत बेच्न नपर्ने र राज्यले जिम्मेवारी लिने अवस्था सिर्जना गर्ने उनले बताए। उनले स्वास्थ्यलाई संवैधानिक अधिकार मान्दै सरकारले यसमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे