
काठमाडौँ, साउन ९ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफूलाई कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा वा आशक्ति नरहेको स्पष्ट पारेकी छन्। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रकै सर्वोच्च पदमा पुगिसकेकाले अब व्यक्तिगत पदको चाहना नरहेको जनाउँदै पार्टी राजनीतिमार्फत देश र जनताको सेवा गर्न लागेको बताइन्।
“मलाई अब कुनै पदको लोभ छैन,” उनले भनिन्, “मैले राष्ट्रको सर्वोच्च पद सम्हालेर इतिहासमा आफ्नो नाम अंकित गरिसकेको छु। त्यसैले अबको यात्रा देश र जनताको सेवामा केन्द्रित हुनेछ।”
पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिक जीवनबाट आएको र पुनः सक्रिय राजनीतिमा फर्किनु कुनै अनौठो कुरा नभएको स्पष्ट पारिन्। उनले भनिन्, “राष्ट्रपति निर्वाचित हुनुअघि म राजनीतिक कार्यकर्ताको भूमिकामा थिएँ। राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पुनः पार्टी राजनीतिमा फर्केर जनसेवामा लाग्ने निर्णय स्वाभाविक हो।”
भण्डारीले नेपालको संविधानले नागरिकलाई राजनीतिक स्वतन्त्रता र दलसँग आबद्ध हुने अधिकार दिएको उल्लेख गर्दै आफूले पनि यही अधिकार प्रयोग गर्दै राष्ट्रहितमा सक्रिय हुने प्रतिवद्धता जनाइन्। “यो संवैधानिक अधिकार हो,” उनले भनिन्, “मैले राजनीति गरेर, पार्टीको नेतृत्व गर्दै राष्ट्रपतिको जिम्मेवारी पाएको हुँ। अब फेरि आफ्नै पार्टीमार्फत देश र जनताको सेवा गर्ने संकल्प लिएको छु।”
उनको यो भनाइलाई नेपाली राजनीतिक वृत्तले भविष्यमा हुने राजनीतिक समिकरणको संकेतका रूपमा पनि हेरेको छ। भण्डारीले कुन राजनीतिक दलबाट सक्रियता जनाउने भन्ने विषयमा भने स्पष्ट खुलासा गरेकी छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे