
काठमाडौं, जेठ ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न कार्यक्रममा प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिम सहभागी थियो।
कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज र पत्रकार महासंघका प्रतिनिधिहरूले पूर्वाधार, पर्यटन, उद्योग प्रवर्द्धन लगायतका विषयमा धारणा राखे। उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाको प्राथमिक आवश्यकतासहितको मागपत्र बुझाउँदै अभियानप्रति आभार प्रकट गर्यो।
अध्यक्ष प्रचण्डले दलहरूबीच देखिएको एकता उदाहरणीय भएको उल्लेख गर्दै, अभियान अब माओवादीको मात्र नभई सबैको साझा पहल बनेको बताए। उनले यहाँ उठेका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा पुर्याइने प्रतिवद्धता जनाए।
दैलेखमा पर्ने १२५ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग खण्डलाई व्यवसायिक तथा आर्थिक गतिविधिका लागि महत्वपूर्ण बताउँदै उनले यसको प्रभाव बसाइसराइ न्यूनीकरण, सहर विकास र पर्यटन प्रवर्द्धनमा हुने बताए। साथै, उनले दैलेखको पेट्रोलियम खानीबारे चिनियाँ पक्षसँग थप छलफल गर्ने बताएका छन्। प्रचण्डले बिहान दैलेखको ऐतिहासिक कोतगढीको अवलोकनसमेत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे