
काठमाडौँ – नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्मबाट लिइएको अण्डाको मूल्य एकीकृत गर्दै भोलिदेखि लागू हुनेगरी ठूलो तथा मिडियम अण्डामा मूल्य घटाएको छ। फार्ममा ठूलो अण्डाको ३० वटा प्याकेटको मूल्य रु ५६५ बाट रु ४७५ मा झरेको छ भने मिडियम अण्डाको मूल्य रु ५५० बाट रु ४६० मा आएको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य निर्धारण ठूला फार्मबाट प्राप्त दररेटअनुसार गरिएको हो। यससँगै उपभोक्तालाई प्रतिगोटा मूल्य रु २५ बाट रु २० पुगेको छ। पोखरेलले मूल्य घट्नुको कारणको रूपमा बढ्दो जाडो, उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम हुनु, पर्यटकको आगमन घट्नु, र कुखुरा फार्महरूले अण्डा बिक्री नगरी उत्पादन बढाउनु जस्ता पक्ष उल्लेख गर्नुभयो।
अघिल्लो वर्षको तुलनामा हाल खपत कम र उत्पादन बढी भएकोले बजारमा अण्डाको मूल्य घटेको बताउँदै अध्यक्ष पोखरेलले जाडो कम भएपछि पुनः माग बढ्ने अपेक्षा व्यक्त गर्नुभयो। उनले भने, “अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार किसानको लागत मूल्य ठूलो अण्डा प्रति ५७४ रुपैयाँ ६ पैसा आउँछ। मूल्य लागत नजिक आएपछि अझ घट्दा किसानलाई थप नोक्सान हुनेछ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे