
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, सबैजसो तरकारीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। निरन्तरको वर्षा र त्यसपछिको बाढी-पहिरोका कारण काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा तरकारी ढुवानीमा अवरोध हुँदा बजारमा तरकारीको भाउ अस्वाभाविक रूपमा बढेको छ।
कालिमाटी बजारमा गोलभेंडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ, जबकि टनेलमा उत्पादन भएको सानो गोलभेंडा प्रतिकिलो ९० रुपैयाँसम्म कारोबार भइरहेको छ। अन्य तरकारीहरूको मूल्यमा पनि ठूलो वृद्धि भएको छ। उदाहरणका लागि, गाजरको मूल्य प्रतिकिलो ११० रुपैयाँबाट बढेर १९० रुपैयाँ पुगेको छ। बन्दाको मूल्य ६५ रुपैयाँबाट ८५ रुपैयाँ, काउली १०५ रुपैयाँबाट १४५ रुपैयाँ, बोडी ७५ रुपैयाँबाट ११० रुपैयाँ र तिते करेलाको मूल्य ७५ रुपैयाँबाट ११० रुपैयाँसम्म पुगेको छ।
यसैगरी, स्कुसको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ, जसको प्रतिकिलो मूल्य १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ। तोरीको सागको मूल्य ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ भएको छ, जसले उपभोक्तामाझ व्यापक असन्तुष्टि पैदा गरेको छ। तरकारीसँगै फलफूलको मूल्यमा पनि वृद्धि भएको बताइएको छ।
विशेषगरी, देशभरका किसानले बाढी र पहिरोले सडक तथा यातायातमा गरेको क्षतिको कारण तरकारी ढुवानीमा गम्भीर समस्या देखिएको बताएका छन्। तर मूल्यवृद्धिलाई कतिपयले बजारमा कृत्रिम अभाव सिर्जना गरेर गरिएको मुनाफाखोरीको रूपमा आलोचना गरिरहेका छन्। उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुको भाउ यसरी अस्वाभाविक रूपमा बढ्दा जनताको जीविकामा ठूलो प्रभाव परेको भन्दै सरकार र सम्बन्धित निकायले मूल्य नियन्त्रणका लागि तुरुन्त कदम चाल्नुपर्ने माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे