
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले देश वैदेशिक र आन्तरिक ऋणमा गहिरो रुपमा डुबेको आरोप लगाएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले लिएको ऋणमा समेत व्यापक भ्रष्टाचार र कमिशनको चलखेल हुँदै आएको दाबी गरेका थिए।
उनले हालसम्म नेपालमा आन्तरिक र बाह्य गरी करिब २६ खर्ब रुपैयाँ बराबरको ऋण रहेको, जसको झण्डै आधा हिस्सा आन्तरिक र आधा वैदेशिक रहेको उल्लेख गरेका थिए। सरकार प्रत्येक वर्ष साँवा र ब्याज तिर्न मात्रै करिब ३ खर्ब रुपैयाँ खर्च गर्दै आएको तथ्यले मुलुकको आर्थिक अवस्था गम्भीर भएको देखाएको उनको भनाइ रहेको थियो।
बस्नेतले सरकारको नीति र नियत नै गलत भएकाले बजेट समयमै खर्च हुन नसकेको, विकास निर्माणका परियोजनाहरू समयमा सम्पन्न हुन नसकेको र शिक्षा तथा स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा गरिएको लगानीले अपेक्षित नतिजा दिन नसकेको टिप्पणी गरेका थिए।
उनका अनुसार संघीय तथा प्रदेश सरकारले प्रत्येक वर्ष जम्मा ७० देखि ८० प्रतिशत मात्र बजेट खर्च गर्दै आएका छन्। सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताले गर्दा सम्बन्धित अधिकारीहरुले समयमा प्रक्रिया अघि नबढाएको र कमिशनको चलखेलले धेरैजसो परियोजनाहरू अधुरो रहने गरेको जसपाको ठहर रहँदै आएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे